दमक। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले इसाई (क्रिश्चीयन) धर्मावलम्बीहरुको धार्मीक र साँस्कृतिक अधिकारका लागि सहयोग गर्ने बताएका छन् । झापाको दमकमा मंगलबार आयोजित ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले इसाई धर्मावलम्बीहरुको मृत्यू संस्कारमा शब दहनका लागि उपयुक्त क्षेत्र छुट्याउने प्रदेश सरकारले पहल गर्नेमा ढुक्क हुन आग्रह गरे ।
सो कार्यक्रममा मुख्यमन्त्री राईले मानवताबीचमा आपसी प्रेम, सद्भाव, आत्मियता, बन्धुत्व र भाइचाराको विकास गर्न धार्मीक संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मुख्यमन्त्री राईले नेपालको संविधान व्यवस्थाले नै धार्मीक स्वतन्त्रता र अधिकारको ग्यारेन्टी गरेको बताए ।
एक फरक प्रसङ्गमा मुख्यमन्त्री राईले आफु किरात धर्मको आस्था राख्ने भएको बताए । तर, आस्था भएपनि त्यहि धर्मको अनुसरण गरेको वा नगरेको त्यो फरक कुरा भएको बताउँदै मुख्यमन्त्री राईले प्रदेशमन्त्रालयबाट हुने कतिपय कार्यक्रममा सहभागि हुन पुग्दा हिन्दु धर्मको विधि वा परम्पराअनुसार हुने गरेको बताए । समुद्घाटन वा शिलान्यास कार्यक्रममा म पुग्नुअघि स्थानीय आयोजकले पंण्डित मार्फत पुजा वा विधिको तयारी हुने गरेको मुख्यमन्त्री राईले बताए ।
‘जन्मन्दै म किरात धर्मको मान्छे’, मुख्यमन्त्री राईले भने–’यो समाजै हिन्दु धर्भभित्रैमा रुमलिएको रहेछ ।’ मलाई पनि छलफल नगरी म सहभागि कार्यक्रममा हिन्दु धर्म वा संस्कृति अनुसार गर्ने गरिन्छ ।
इसाई समाज प्रदेश १ का अध्यक्ष पाष्टर बिक्रम बर्णबास येक्तेन लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा रेभ गोपाल खनालले प्रार्थना गरेका थिए ।
सो कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश १ का अध्यक्ष राम थापा, रेभ दानियल सुब्बा लगायतले ख्रीष्ट जन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गरेका दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिए ।
इसाई समाज दमक नगर समितिको आयोजनामा भएको कार्यक्रममा इसाई समाज संघ संस्था, चर्चहरुको प्रतिनिधित्व गर्दै धरानका संचारउद्यमी रेभ कुबेर गुरुङले नेपालमा ३० लाखको हाराहारीमा रहेका इसाई सममुदायमाथि अहिलेपनि शासकहरुले दमन र अत्याचार गरिरहेको बताए । उनले समाज र राष्ट्र निर्माणमा होस या सामाजिक र राजनीतिक परिवर्तनमा इसाई समुदायको पनि कही न कही महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
मुख्यमन्त्री र सहभागि अतिथिहरुलाई लक्षित गर्दै उनले प्रश्न गरे, हामी यहि देशका नागरिक, हामी यहि देशमा बसोबास गर्दछौं तर हामीमाथि धार्मीक दृष्ट्रिकोणले दमन र अत्याचार किन भइरहन्छ ? धार्मीक कार्यक्रममा सहभागि भएर आफ्नो बिचार राख्दाराख्दै पक्राउ परिन्छ । पक्राउ परेका मान्छेलाई जबरजस्ती अदालतमा उभ्याइन्छ । अदालतमा पेशीका लागि उपस्थिति हुदाँ होस या धरौटी बुझाउदाँ होस, पटक पटक पक्राउ गरेर हामीमाथि शासकले दमन गरिरहेको छ, गुरुङले भने ।
सो कार्यक्रममा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम संयोजक रेभ एनडी थुलुङ राई, नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष महेश घिमिरे, नेपाल खेलकुद महासंघ समाजवादीका केन्द्रीय सदस्य सुमन कार्की, दमक उद्योग बाणिज्य संघ दमकका बरिष्ट उपाध्यक्ष गोपाल गुरागाई, नेकपा (एमाले) दमक नगरका सचिव राम पौडेलको उपस्थित थियो ।
इसाई समाज दमकका पूर्वअध्यक्ष एबम् सल्लाहकार पाष्टर राजकुमार राईका अनुसार प्रदेश १ बाट १४ जिल्लाका प्रतिनिधित्व रहनेगरी सहभागि भएको कार्यक्रममा झापा, मोरङ र सुनसरीबाट इसाई धर्मावलम्बीहरुको ठूलो संख्यामा उपस्थि थिए । कार्यक्रममा दमक, उर्लाबारी लगायतका चर्चहरुका कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरेर मनोरञ्जनात्मक बनाएका थिए ।
सो कार्यक्रमको सञ्चालन इसाई समाजका महासचिव एबम् पाष्टर मेहरमान गिरी र इसाई समाजका युवा व्याक्तित्व एबम् पत्रकार सुमन कुरुङबाङले पालैपालो गरेका थिए ।
