काठमाडौं, अपहरण तथा शरीर बन्धक मुद्दाका आरोपी अमर टण्डनमाथि अनुसन्धान पुरा नगरी म्याद गुजार्ने अनुसन्धान अधिकृतलाई प्रहरी प्रधान कार्यालयले स्पष्टीकरण सोधेको छ । रुपन्देहीको वुटवल–११ स्थित मिलन चोकमा २०६४ माघ २९ मा भएको अपहरणको घटना अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले लापरवाहीपूर्वक म्याद गुजारेका थिए । सो घटनामा हाल बहालमा रहेका डिएसपीहरु माधव बुढाथोकी, भिमलाल भट्टराई इन्सपेक्टर ऋषिराम घर्तिमगर र राजु कार्कीसहित १५ जनालाई स्पष्टीकरण सोधिएको हो ।
रुपन्देही अमुवाका अमर टण्डनमाथिको अनुसन्धान पूरा नगरी म्याद गुजारेको घटना छानविन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालको नेतृत्वमा छानविन समिति बनाएको थियो । छानविन समितिको रिपोर्टका आधारमा १५ जना प्रहरी अधिकारीलाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले रातोपाटीलाई जानकारी दिए ।
