काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशन स्थल काठमाडौँ आउन सुरु गरेका छन् ।
२४-२७ मङ्सिरसम्म काठमाडौँको भृकुटीमण्डपमा पार्टीको महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा ट्राफिक व्यवस्थापनको चिन्ता बढेको छ । बढ्दो सवारी चापले प्रभावित उपत्यकाको ट्राफिक व्यवस्थापन देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनका कारण थप अस्तव्यस्त हुने निश्चित छ । यस्तोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनको योजना बनाएको छ ।
ट्राफिक व्यवस्थाका दुई मुख्य कुरामा एउटा जनशक्ति परिचालन र अर्को पार्किङस्थल हो । यी दुवै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ । महाधिवेशन स्थल वरिपरिको रुटमा प्रत्येक सिफ्टमा ३५० ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । ‘अस्त व्यस्त नहुने गरी मिलाएका छौँ । आउने रुटमा थप जनशक्ति परिचालन गरेका छौँ,’ उनले भने, ‘यो क्षेत्रमा जनशक्ति पनि बढाएका छौँ । हामीले एक सिफ्टमा ३५० ट्राफिक प्रहरी यो महाधिवेशन वरिपरि खटिन्छन् । यो नर्मल अवस्थाभन्दा बढी हो ।’
