भक्तपुर। बालकोटका युवक राजन श्रेष्ठको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मुख्य योजनाकार मानिएका सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ–२ का ३० वर्षीय प्रेम विक हुन्।
प्रहरी स्रोतका अनुसार आर्थिक लेनदेनसम्बन्धी विषयमा विवाद हुँदा हेमन्त र प्रेमले कुटपिट गरी हत्या गरेको खुल्न आएको छ । मृतक राजन जग्गा व्यवसायी हुन्।
स्रोतका अनुसार हेमन्तले फोन गरी बोलाएपछि मंगलबार राति ९ बजे घरमै रहेका राजन मध्यपुर थिमि–३ गठ्ठाघर पुगेका थिए । राजनको गाडी गठ्ठाघरमा राखी उनीहरु मोटरसाइकलमा बालकोट पुगेर आर्थिक लेनदेनको विषयमा छलफल भएको देखिन्छ । त्यहीँ विवाद हुँदा हेमन्त र प्रेमले चिर्पट, फलामको रडलगायतले अनुहारमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरी स्रोतले बताएको छ।
पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त थिमिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका आफन्तले महानगरीय प्रहरी वृत्त थिमि पुगेर घटनाको निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
