काठमाडौं । आमुल परिवर्तन मसिह पार्टी नेपालद्वारा बृहत अन्तरक्रिया तथा बहस कार्यक्रम सम्पन्न भएकोछ। काठमाडौँको सुकेधारा स्थित पार्टीको केन्द्रिय कार्यालयमा आइतबार सम्पन्न कार्यक्रममा ‘ख्रिष्टियन महासंघ, मण्डली महासंघ, गुठी महासंघ, एन्. सि एफ् , एन्. सी. एस् लगायतका संघ-संस्थाहरुको केशवराज आचार्य प्रतिको दायित्व के?’ भन्ने शीर्षकमा विभिन्न संघ-संस्था तथा पार्टिका प्रतिनिधीहरुले व्यक्तिगत तथा संस्थागत धारणा राखेकाथिए।
केशवराज आचार्य इसाई धर्म प्रचार तथा जबर्जस्ती धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट पक्राउ गरि जिल्ला अदालत डोल्पाले २ वर्ष जेल सजाय र २० हजार रुपैयाँ जरिवाना तोकि जेल चलान गरिएका इसाई धर्म गुरु हुन् । आचार्यको विषयले हाल नेपाली इसाई समुदायमा ठूलै हलचल मच्चाईरहे पनि पास्टर आचार्यको बिषयलाई कस्ले जसलिने भन्नेमा पनि आपसमा होडबाजी चलिरहदा आमुल परिवर्तन मसिह पार्टी ले यस्तो कार्यक्रमको आयोजना गरेको पार्टी अध्यक्ष्य भरत गिरिले बाताए ।नेपालका अन्य ठूला धार्मिक सम्प्रदायका धर्मगुरुहरुले जस्तोसुकै जघन्य अपराध गरेपनि उन्मुक्ति दिइने तर एउटा अल्पसंख्यक इसाई धर्मगुरुले आफ्नो धार्मिक भेलामा बोलेको वाक्यांशलाई लिएर जेल चलान गर्नु न्यायसंगत नभएको गोठालो संगतिका अध्यक्ष पा. इश्वर चन्द्र कार्कीले बताए ।
कार्यक्रमकै बिच आफ्नो धारणा राख्दै नेपाल ख्रिष्टियन महासंघका उपाध्यक्ष तथा अधिवक्ता भबिन्द्र राईले भने “नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत हरेक नागरिकले आफ्नो स्वइच्छाले कुनै पनि धार्मिक आस्था अवलम्बन, अभ्यास र संरक्षण गर्न पाउने व्यवस्था रहे पनि केशवराज आचार्य जस्ता इसाई धर्मगुरुलाई पक्राउ गरि जेल चलान गर्नाले निजको उक्त मौलिक हकको हनन भएको प्रष्टसँग देख्न सकिन्छ । इसाईहरु अझै पनि एक भई आवाज नउठाउने हो भने यस्ता घटना अन्य इसाईहरुको जिवनमा पनि नहोला भन्न सकिन्न ।”
कार्यक्रममा आयोजक पार्टीको तर्फबाट धारणा राख्दै कार्यक्रम सभापति तथा आमूल परिवर्तन मसिह पार्टी नेपालका अध्यक्ष भरत गिरीले नेपाली इसाई समुदायको हक र हितको लागि लड्ने एक मात्र राजनितीक पार्टी आमूल परिवर्तन मसिह पार्टी मात्र रहेको र केशवराज आचार्यको विषयमा पनि कडा कदम चाल्न आफ्नो पार्टी तयार रहेको बताए ।
अध्यक्ष गिरीले थप जोड दिँदै भने “इसाई धर्म गुरु पा. केशवराज आचार्य मात्र नभई जति पनि उत्पीडनमा परेका इसाईहरु छन् उनीहरूको पक्षमा हाम्रो पार्टी उभिएकोछ । अब सम्पूर्ण इसाईहरु एक भई हामीलाई साथ दिनुहोस् , विजय हाम्रो हुनेछ ।”
पार्टी तथा विभिन्न संघ संस्थाहरुले यसाे भनिरहँदा र यस्ता कार्यक्रमहरु गरिरहँदा उता पाष्टर केशव भने २० हजार जरिवाना सहित २ बर्ष जेल सजाय सजाय ताेकियर जेल चलान भैसकेका छन्। समुदायकाे हितकालागि भनी खाेलिएका संघ संस्था तथा पार्टीहरु अहिले तिनै आचार्यकाे बिषयमा जस कसले लिने भन्ने हाेडवाजि जस्तै गरि लागि परिरहेकाे देखिन्छ भने कुनै संघका मानिसहरुभने दिनहुँ जसाे नेता र मन्त्री भेट्न केही यूट्युबकाे साथमा दाैडधुप गरिरहेका छन्।
