काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दललाई भाग पुर्याउन आठवटा मन्त्रालयलाई १४ वटा बनाएका छन् । एउटै मन्त्रालय टुक्र्याएर तीनवटा सम्म बनाइएको छ ।
नेकपा एकीकृत समाजवादीका नेता पाण्डेको नेतृत्वमा बाग्मती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहभागी छ ।
मुख्यमन्त्री नियुक्त हुनासाथ पाण्डेले सुशासनमा अत्यधिक ध्यान दिने प्रतिबद्धता जनाएका थिए तर, औचित्य र आवश्यकताबिनै मन्त्रालय टुक्र्याएर आठबाट १४ वटा बनाएपछि भने उनको प्रतिबद्धता आफैंमा व्यंग्य बनेको छ ।
बाग्मती प्रदेश सरकार स्थापना हुँदा सातवटा मन्त्रालय मात्र भएकोमा पछि थपेर आठ पुर्याइएको थियो ।
पहिले स्थापना हुँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको मन्त्रालयलाई अहिले पाण्डे नेतृत्वको सरकारले तीनवटा बनाएको छ । यस्तै पहिले नै फुटाइएको सामाजिक विकास मन्त्रालय पनि फुटाइएको छ ।
स्थापनाको समयमा एउटा मात्र रहेको सामाजिक विकास मन्त्रालय एमाले नेतृत्वको सरकारले भागबन्डा मिलाउन दुईवटा बनाएको थियो । तर, अहिले फेरि फुटाइएकाले तीनवटा भएको छ ।
यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि फुटाइएको छ ।
१५ मंसिरमा बसेको बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाएर आठबाट १४ वटा बनाउने निर्णय गरेको थियो । त्यसलाई समेटेर राजपत्रमा सूचनासमेत जारी भइसकेको छ ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेका थिए । यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित आठ मन्त्रालय बनाएको थियो ।
वर्तमान मुख्यमन्त्री पाण्डेको सरकारले हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर तीनवटा बनाएको छ । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाइएको छ । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ ।
