विनोद मण्डल, सिरहा । निर्माणाधीन सिरहाको धनगढी माई १२ स्थितको खानेपानी आयोजना व्यवस्थापनको अभावमा अलपत्र परेको छ । सरे खोला किनारमा करिब ५ बर्ष अगाडि बनाइएको खानेपानी आयोजनाको ट्याङ्की यतिबेला खानेपानी डिभिजन कार्यालय राजविराज सप्तरीको चरम लापरवाहीका कारण ओझेलमा परेको हुनाले हालसम्म स्थानियले खानेपानीको उपभोग गर्न पाएका छैनन् ।
एकातिर ट्याङ्की वनमारा घारीमा परिणत भएको छ भने अर्कोतिर ट्यांकीको माथिल्लो भागमा माहुरीको वासस्थान बनेको छ । प्रत्येक घर धुरी बराबर २४ सय रुपैयाँ पाइप लाइन गर्ने भनी लिएका जग्गा दाता तुलसी आचार्य हाल मकवानपुर जिल्लाको बासी भएपछि हिसाब गोलमाल हुनुको साथै खानेपानीको लागि ल्याईएको कालो पाइप वडा कार्यालय परिसरमा लहराले छोपिएका छन् ।
बर्षौ बितीसक्दा पनि स्थानियको घरमा हालसम्म पानी पुगेको छैन भने अर्कोतिर भएको पाइपको व्यवस्थापन र ट्याङ्की परिसरमा व्यवस्थापनको अभावमा सोलार ,भवन लगायत ट्यांकीको निर्माणमा भएको कमशल अर्थात् भ्रष्टाचारको कारण सञ्चालन नहुँदै ट्याङ्की चिरा पर्न थालेको छ जसलाई पचाउन रंग पेन्टले लुकाउन खोजेपनि वास्तविकता बाहिर आएको प्रस्ट देख्न सकिन्छ । अहिले उक्त ट्याङ्की लागू औषध खाने ठाउँको रूपमा विकास हुँदै गएकोले सरोकारवाला निकायले तत्काल ध्यान केन्द्रित गरेर समस्याको समाधान गर्नका लागि तत्पर हुनु पर्ने देखिन्छ ।
