पार्टीको हिजाे बसेको सचिवालय बैठकले आज दिउँसो १२ः०० बजे माइतीघर मण्डलामा वृहत शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
घोषणा गरिएको कार्यक्रम अनुसार सरकारका भ्रष्ट जनघाती कदमको विरोध, न्याय र लोकहितको सुनिश्चितता, धर्मगुरू केशव आचार्यको अविलम्ब रिहाइको मागका साथ प्लेकार्ड लिएर शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
सोमबार धर्म परिवर्तनको मुद्धामा डोल्पा जिल्ला अदालतमा तोरख दिन पुगेका प्रशस्त कटनी चर्चका पास्टर केशवराज आचार्यलाई जिल्ला अदालतका माननीय न्यायधीश केशवराज चापाईको एकल इजलासले कसुरदार ठहर गरेर हेर्दाहेर्दैको अवस्थामा पुस १४ गते हुने पूर्ण फैसलाको समयसम्म थुनामा राख्ने आदेश दिएसँगै नेपाली ख्रीष्टियनहरु यतिखेर आन्दोलित भएका छन् ।
अल्पसंख्यक धार्मिक समुदायमाथिको दमन विरुद्ध, विचार अभिव्यक्तिको स्वतन्त्रता ग्यारेण्टी गरिनुपर्ने, धर्मगुरु केशवराज आचार्यको अविलम्व रिहा गर्नुपर्ने लगायतका माग राखी शान्तिपुर्ण आन्दोलनको तयारी गरेको पार्टीका अध्यक्ष डा. वि.पी. खनालले जानकारी दिए ।
उहाँले लोकतन्त्र, पूर्ण आस्था अभिव्यक्ति विचार तथा प्रकाशन प्रसारणको स्वतन्त्रताका पक्षधर, देशभरिका सम्पूर्ण पार्टी पदाधिकारी लगायत कार्यकर्ता तथा सदस्यहरू र सम्पूर्ण नागरिक समुदायमा समेत भोलिको विरोध तथा ध्यानाकर्षण कार्यक्रममा सहभागिताका लागि आह्वान गर्नुभएको छ ।
