खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि चार राईको भिडन्त हुने भएको छ । आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनका लागि पूर्व राज्यमन्त्री सर्वधन राई, पूर्व सभापति विष्णुकुमार राई, महासमिति सदस्य रबीप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई सभापति पदमा उनीहरुको भिडन्त हुने भएको हो । अहिले उनीहरु चुनावी मैदानमा उत्रिसकेका छन् । आ–आफ्नो प्यानल खडा गरी चार नेताले आफ्नो प्यानललाई जिताउने दौडधुपमा लागिपरेका छन् ।
पूर्व राज्यमन्त्री सर्वधन र महासमिति सदस्य रबीप्रकाश सभापति देउवाको समुहमा नजिक छन् । पूर्व सभापति विष्णुकुमार पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र सिटौलासँग नजिक छन् । पूर्व सभापति विष्णुकुमार आफ्नो प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा सार्जन राई र सालिकराम बञ्जराले उम्मेद्धारी घोषणा गरेका छन् ।
सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई, सहसचिव ध्यानबहादुर राईको नाम टुंगिएको छ । महाधिवेशन प्रतिनिधि भूपेन्द्रको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सचिव श्याम राई र सहसचिवमा ध्यानबहादुर राईलाई अघि सारिएको छ । महासमिति सदस्य रबीप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ ।
पूर्व राज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सहसचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनीति स्वरूप केही पद रिक्त राखिएको स्रोतले बताएको छ ।
दुवै प्यानलको सहसचिवमा ध्यानबहादुरको नाम राखेको पाइएको छ । क्षेत्रीय कार्यसमिति प्रदेशको अधिवेशनको नतिजा हेरेर बाँकी पदमा फरक टिमसँग एलायन्स गर्ने योजनासहित पद रिक्त राखिएको पूर्व राज्यमन्त्री राईको प्यानलबाट सचिवका उम्मेदवार बनेका नेता रोजन राईले बताए ।
क्षेत्रीय अधिवेशनपछि अन्य टिमसँग मिल्ने अवस्था आए सहकार्य गरिने कांग्रेस जन्तेढुंगा गाउँ कार्य समिति सभापति बाजिन्द्र विष्टले बताए । ‘मिल्ने अवस्था आए रिक्त पदमा अन्य टिमका नेतालाई राखिन्छ, मिल्ने अवस्था नभए आफ्नै प्यानल तयार हुन्छ,’ भूपेन्द्रको प्यानलमा रहेका विष्टले भने, ‘अन्य टिमसँग सहकार्य हुनेरनहुने टुंगो क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि लाग्छ ।’
