काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम, खाद्यान्नलगायत हरेक सामानमा सरकारले मूल्यवृद्धि गरेको विरोधमा भोलि मङ्गलवारका लागि आह्वान गरिएको नेपाल बन्दमा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, कानुन व्यवसायी (आन्दोलन जारी रहेका कारण), कूटनीतिक नियोग, दूध बोक्ने, पानी बोक्ने र फोहोर बोक्नेबाहेक सबै गाडी बन्द हुने जनाएको छ । नेकपा केन्द्रीय स्रोतले दिएको जानकारीअनुसार नेपाल बन्दका क्रममा प्रेस, एम्बुलेन्सलगायत अस्पतालसम्बन्धी, आन्दोलन जारी रहेका कारण कानुनव्यवसायीले प्रयोग गरेका गाडी, कूटनीतिक नियोग र फोहोर बोक्ने गाडी मात्र चल्न दिइने र अरू सबै गाडी, संस्था, व्यवसाय, कार्यालय बन्द हुनेछन् । नेकपाले बन्दमा सहयोग गर्न महँगीको मारमा परेका र हालैको अत्यधिक मूल्यवृद्धिले थला परेका सबै पक्षलाई आह्वान गरेको छ । नेकपाले आइतबार उद्योगी, व्यवसायी, पेसाकर्मीका साथै सोमबार सञ्चारकर्मीहरूलाई पनि बन्दमा साथ दिन आह्वान गरेको छ । यसै क्रममा नेकपाले नेपाल बन्दको पूर्व सन्ध्यामा पूर्वघोषित कार्यक्रमअनुसार आज देशव्यापी सिटी जुलुस निकालेको छ । काठमाडौँमा आयोजित सिटी जुलुस सुनधाराबाट सुरु भएर जुद्ध सडक, खिचापोखरी, असन हुँदै रत्नपार्कमा कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य अनिल शर्माले देउवा नेतृत्वको खिचडी सरकारले जनताले उपयोग गर्ने हरेक सामानको मूल्यवृद्धि गरेर विद्रोह गर्न बाध्य पारेको बताए । उनले आज साँझको मसाल जुलुस र भोलि मङ्गलवार को नेपाल बन्द सफल पार्न उपत्यकालगायत सम्पूर्ण देशवासीलाई आह्वान गरे ।
कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस सहितका सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेकपाले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।
- September 29, 2026
