धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु देशैभरिका नगरपालिकाहरुको छाता संगठन ‘नेपाल नगरपालिका संघ’ का अध्यक्ष हुन् । उनी नगरपालिकाहरुको अन्तरराष्ट्रिय नेटवर्कमा समेत आवद्ध छन् । उनी नेकपा एमालेका नेता हुन् । सिंहदरबारले स्थानीय तहलाई कम अधिकार दिएको गुनासो गर्दै आएका युवा नेतासमेत हुन् उनी ।
उता शहरी विकास मन्त्रालयको बागडोर चर्चित युवा नेतृ रामकुमारी झाँक्रीले सम्हालेकी छिन् । एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकी मन्त्री झाँक्री नेकपा एमालेसँग वाक्युद्धमा सक्रिय छिन् । बिरामी भएर अस्पतालबाट डिस्चार्ज भएको खबर आइनपुग्दै झाँक्रीले नेतृत्व गरेको शहरी विकास मन्त्रालयले उपभोक्ता समितिहरुमार्फत हुँदै आएको खरीद प्रक्रियामाथि रोक लगाउने निर्णय गरेको खबर बाहिर आयो । यो खबरसँगै मन्त्री झाँक्री फेरि चर्चामा आएकी छिन् ।
मन्त्री रामकुमारीले गरेको नयाँ निर्णयबारे निर्माण व्यवसायीहरुले सकारात्मक प्रतिक्रिया जनाइरहँदा हामीले नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेलका मेयर एवं एमाले नेता ब्याञ्जुसँग यसबारे चासो राखेका छौं ।
स्थानीय तहमा उपभोक्ता समितिहरुमार्फत भइरहेका काममा भ्रष्टाचार र अनियमिता बढेको महालेखा परीक्षक र अख्तियारको प्रतिवेदनमा समेत उल्लेख भएको पृष्ठभूमिमा शहरी विकास मन्त्रालयको निर्णयलाई कसरी लिने ? यसबारे प्रश्न सोध्दा मेयर ब्याञ्जुले यो निर्णयको आलोचना मात्रै गरेनन्, नगरपालिकाहरुले यसलाई नमान्ने घोषणासमेत गरे । Ratopati
