प्रहरीले गत असोज १८ गते इच्छाराज तामाङसहित १२ जनाविरुद्ध ठगी मुद्दा अगाडि बढाएपछि संगठित अपराध अन्तर्गत अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको हो । प्रहरीले संगठित अपराधमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।
केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार इच्छाराज तामाङसहित पक्राउ परेका १२ जनाविरुद्ध ३ पटक अदालतबाट म्याद थप भएको छ । ब्यूरोका अनुसार इच्छाराज तामाङविरुद्ध साढे १२ सय जनाले उजुरी दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट उनले ५ अर्ब १६ करोड ठगी तथा हिनामिना गरेको खुलासा भएको छ ।
ललितपुरस्थित सिभिल सहकारीमा २२ सय बढी बचतकर्ताहरु रहेका छन् । इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आँफै लिएर नतिरेको र रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई सीआईबीले पक्राउ गरेको थियो ।
वि.सं. २०५५/५६ मा सिभिल सहकारी खोलेका तामाङ अध्यक्ष र लोन शाखा प्रमुख दुवै थिए । उनले सहकारीसँगै घर–जग्गाको कारोबार बढाएका थिए, भने घर–जग्गाका लागि सबैजसो ऋण सोही सहकारीबाट लिएका थिए ।
