महेन्द्रनगर । नेकपा एमालेबाट निर्वाचित कञ्चनपुरका प्रतिनिधिसभा सदस्य द्वय निरुदेवी पाल र डा. दिपक प्रकाश भट्ट दोधारा चाँदनी नगरपालिकाको बाढी प्रभावित क्षेत्र कुतियाकभर र सुन्दरनगर पुगेका छन् ।
आइतबारदेखिको अविरल वर्षापछि आएको बाढीले पुर्याएको क्षति र विस्थापित परिवारको अवस्थाबारे जानकारी लिन उनीहरु त्यस प्रभावित क्षेत्र पुगेका हुन् ।
दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० कुतियाकभर र वडा नं. ८ सुन्दरनगर बाढीले अति नै प्रभावित भएको छ । उक्त क्षेत्रका अधिकांस परिवार विस्थापित भएका छन् भने घरहरु बाढीले भत्केका छन् । अन्नपात र लुगाकपडा सबै भिजेका छन् ।

‘बाढीले उक्त क्षेत्रको अवस्था निकै दयनीय बनेको छ,’ सांसद भट्टले भने, ‘विस्थापितको पुर्नस्थापनासंगै राहातका लागि सक्दो पहल गर्ने छौं, प्रदेश र संघ सरकारलाई आग्रह गर्ने छौं ।’
‘संघ र प्रदेश सरकारले तत्काल विस्थापितको पुर्नस्थापना र राहातमा वितरणमा ध्यान दिनुपर्छ,’ संसदको महिला तथा समाजिक समितिकी सभापति समेत रहेकी सांसद पालले भनिन्, ‘यसका लागि मैले सक्दो पहल गर्नेछु ।’
बाढी प्रभावित क्षेत्र पुगेका नेकपा एमालेका जिल्ला कमिटि सचिव तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रभावितहरुलाई राहात र पुर्नस्थापनाका लागि पार्टीका तर्फबाट पनि पहल गरिने बताए ।
