राजविराज । निरन्तर हावासँगै अविरल वर्षाका कारण सप्तरी सदरमुकाम राजविराजको अधिकांश भाग जलमग्न भएका छन् । वर्षाको पानीको उचित निकास हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा डुवानमा परेका हुन् ।
राजविराजस्थित सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, गजेन्द्र चौक, दशन चौक, रुपनी रोड लगायत क्षेत्र जलमग्न भएको छ । वर्षाको पानीले सडक मात्र नभएर बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, घरेलु तथा साना उद्योग कार्यालय, सरकारी वोकि कार्यालय, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् ।
वर्षाको पानीले निकास नपाउँदा राजविराज नगरपालिका वडा नम्वर ८ स्थित हिमालय टोल, ५ स्थित मिथिला टोल, ७ स्थित खर्साल टोल, ६ स्थित सिरहा रोडको घर घरमा पानी पसेको छ । सडक र आसपासमा भएको डुवानले सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै यातायातका साधनहरु गुड्न कठिनाई भएको छ ।



भने उता सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न, यातायात अवरुद्ध भएको छ । निरन्तर वर्षा सँगै आएको बाढीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहादेखि इनर्वासम्मको सडक जलमग्न भएको छ । अहिले सो सडकमा डेढ फिटसम्म पानी बग्ने गरेका कारणले यातायात समेत अवरुद्ध भएको छ । सो आसपासका गाउँबस्तीमा पनि २ देखि ३ फिटसम्म पानी पसेर जनजीवन कष्ठकर बनेको छ ।
