हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँको आगमनसँगै पोखरा र आसपासका क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि दसैँ मनाउन घर जानेहरुको लर्को लागेसँगै शहर बजारमा दसैँको किनमेल गर्नेको घुइँचो लागेको छ । बिस्तारै शहर, बजार रित्तिँदै (चाप घट्दै) गएको छ भने गाउँ भरिँदै छन् ।
रोजगारीको खोजीमा गाउँ छोड्नुपर्ने बाध्यता भए पनि दसैँ–तिहारजस्ता चाडपर्वले वर्षमा एकदुई पटक परिवारका सदस्यबीच जमघट गराउने गरेको कास्की निर्मल पोखरीका विकास भण्डारी बताउँछन् । ‘पछिल्लो समय अधिकांश गाउँका युवा रोजगारी र अध्ययनका लागि शहर बजार र विदेश गएकाले गाउँघरमा वृद्धवृद्धाबाहेक कोही छैनन्,’ उनले भने, ‘बुढापाकाहरु दसैँ कहिले आउँला र आफ्ना छोराछोरी फर्किएलान् भनेर बाटो हेरिरहेका हुन्छन् ।’
देश बाहिरका नेपालीले दसैँ तिहारकै लागि असोज र कात्तिकमा मात्रै साढे दुई खर्बभन्दा बढी रुपैयाँ रेमिट्यान्स पठाउने विगतको तथ्यांकले देखाउँछ । साउनमा मात्रै ७५ अर्ब रुपैयाँको रेमिट्यान्स आएकोमा दसैँ तिहारमा २५ देखि ३० प्रतिशत बढी रेमिट्यान्स भित्रिने गरेको छ ।
रोजगारीका सिलसिलामा भारतको नयाँदिल्लीमा पुगेका नेपाली केही दिन यता ठूलो संख्यामा फर्किरहेको पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको सृष्टि यातायात प्रालिका सञ्चालक कृष्ण पौडेलले बताए । ‘दसैँ मनाउनका लागि भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा नेपाली भित्रिएका छन्,’ उनले भने, ‘एक महिना पहिलेदेखि दसैँ मनाउन नेपाल आउने नेपालीको चाप बढेको हो ।’
दसैँको समयमा आफ्ना घर फर्कन चाहने प्रत्येक सर्वसाधारणलाई सहज होस् भनेर पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिले प्रत्येक रुटमा थप बस सञ्चालन गरिरहेको पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिकाका अध्यक्ष योगेन्द्र केसीले बताए । ‘दसैँमा घर फर्कने यात्रुलाई असुविधा नहोस् भनेर हामीले गाडीको संख्या बढाएका छौँ’, उनले भने ।
दैनिक ५/६ सय संख्यामा बस सञ्चालन गरिरहेको पृथ्वी राजमार्ग बस सञ्चालक प्रालिले दसैँमा यात्रुको चापलाई मध्यनजर गर्दै बसहरु थप गरेको उनले बताए । ‘यात्रुको आवश्यकता अनुसार गाडीहरु थप गर्दै लग्नेछौँ,’ उनले भने, ‘यात्राका क्रममा सामाजिक दूरी कायम गर्दै सिट संख्याका आधारमा मात्र यात्रु राख्ने, सेनिटाइजर र मास्क अनिवार्य गर्ने गरेका छौं ।’
दसैँ नजिकिएसँगै बसपार्क र बसबिसौनीमा यात्रुहरुको चहलपहल बढ्दै गएको अध्यक्ष केसीले बताए । ‘हामीलाई तत्कालका लागि गाडीको समस्या छैन,’ उनले भने, ‘यात्रुले गाडी नपाएर दुःख पाइयो भन्ने अवस्था आउने दिने छैनौं ।’
कोरोनाकै कारण गत वर्षभन्दा यो वर्ष दसैँको मुखमा घर फर्किनेहरु केही मात्रामा बढेको उनी बताउँछन् । घटस्थापना सुरु भएपछि ब्यवसाय र रोजगारीका लागि पोखरा बस्दै आएका अधिकांश सर्वसाधारण दैनिकरुपमा आफ्नो स्थायी बसोबास भएका बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङलगायतका जिल्लामा फर्कने क्रम बढिरहेको छ । ratopati.com बाट साभार
